रोग निवारण (#7007)

तिम्रो नाम नै मेरो उपचार हो, हे मेरा ईश्वर र तिम्रो स्मरण मेरो औषधि हो | तिम्रो सामीप्य नै मेरो अभिलाषा हो र तिमीप्रतिको प्रेम मेरो साथी हो | मप्रतिको तिम्रो करुणा नै यस लोक र परलोकमा मेरो उपचार र आश्रय हो | नि:संशय तिमी नै सर्व–दानी, सर्व–ज्ञानी तथा सर्व–बुद्धिमान् छौ |

-Bahá'u'lláh
-----------------------

रोग निवारण (#11123)

हे ईश्वर, मेरा ईश्वर ! तिम्रो रोग निवारक समुद्र, तिम्रा दिवासूर्यको प्रतापको कृपा, तिम्रा सेवकहरूलाई वशमा राख्ने तिम्रो नाम, तिम्रो सर्वोत्कृष्ट शब्दको सर्व–व्यापी शक्ति र तिम्रो अत्यन्त ओजस्वी कलमको तागत, स्वर्ग तथा पृथ्वीमा भएका सारा प्राणीहरू भन्दा पनि पूर्व कालीन तिम्रो दयाको निम्ति म तिमीसित प्रार्थना गर्दछु कि मेरा सारा रोग तथा व्याधिहरूलाई र सारा कमजोरी तथा अशक्तताहरूलाई आफ्नो कृपाको जलद्वारा धोएर मलाई पवित्र गराइदेऊ । 

हे मेरा प्रभु, तिम्रो सेवकलाई तिम्रो कृपाको ढोकामा प्रतीक्षा गरिरहेको, तिम्रो दयाको डोरीलाई बलियोसित पक्डेर आफ्ना सारा आशाहरू तिमीमा नै केन्द्रित गराउँदै पर्खिरहेको तिमी देखिरहेका छौ । म तिमीसित विन्ती गर्दछु कि तिम्रो प्रेमार्द्र दयाको दिवासूर्यबाट र तिम्रो कृपाको समुद्रबाट उसले खोजेका वस्तुहरू उसलाई प्रदान गर्न अस्वीकार नगर । 

तिमी यति शक्तिशाली छौ कि तिमीलाई जे मन पर्छ त्यही गर्न सक्छौ । सर्व–दयालु, सर्व–कृपालु तिमीबाहेक अर्को ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

रोग निवारण (#11124)

हे प्रभु, मेरा ईश्वर ! म तिम्रो त्यो नामद्वारा तिमीसित बिन्ती गर्दछु जसद्वारा तिमीले आफ्नो मार्गदर्शनको ध्वजा पताकाहरूलाई उठाएका छौ र आफ्नो प्रेमार्द्र दयाको ज्योति फैलाएका छौ र आफ्नो स्वामित्वको सत्तालाई प्रकट गराएका छौ; जसद्वारा तिम्रो नामको दीपक तिम्रा गुणहरू सहित अवतरित भएका छन् र जो तिम्रो एकताको मन्दिर र त्यागको आदर्श हुन्, उनी प्रकट भएका छन्; जसद्वारा तिम्रो मार्गदर्शनका गोरेटाहरू पत्ता लागेका छन् र तिम्रा सदिच्छाका मार्गहरू अंकित भएका छन्; जसले असत्यको जगलाई हल्लाइदिएको छ र दुष्टताका चिन्हहरूलाई मेटाइदिएको छ जसद्वारा बुद्धिका मूलहरू फुटेका छन् र स्वर्गका व्यञ्जनहरू भरिएका पात्रलाई तल पठाइएका छन्, जसद्वारा तिमी आफ्ना सेवकहरूलाई संरक्षण प्रदान गर्दछौ र तिनका रोगहरूको हरण गर्दछौ; जसद्वारा तिमी आफ्ना सेवकहरू माथि तिम्रा कोमल कृपाहरूको वृष्टि गर्दछौ र आफ्ना प्राणीहरूलाई  क्षमा गर्दछौ कि जो फर्केर तिमीकहाँ आइपुगेको छ, तिमीसित टाँस्सिएको छ, तिम्रो दयाको भीख मागिरहेको छ र तिम्रो प्रेमपूर्ण विधानप्रति निष्ठावान् छ उसलाई सुरक्षित राख । अतः तिम्रो रोग निवारणको मन्त्रद्वारा उसलाई निको पार र उसलाई सम्पूर्ण गराऊ, तिम्रो तर्फबाट उसलाई निरन्तरता प्रदान गर र तिम्रो महानताद्वारा उसको आत्मालाई शान्त गराऊ । निश्चयमेव, तिमी रोग निवारक, संरक्षणकर्ता, सहायक, सर्व–शक्तिमान्, बलवान्, गौरवशाली, सर्व–ज्ञाता हौ ।

-Bahá'u'lláh
-----------------------

रोग निवारण (#11125)

तिम्रो कृर्तिबढोस्, हे प्रभु, मेरा ईश्वर ! आफ्ना सेवकहरूलाई अभिप्रेरित गर्ने तथा नगरहरू निमार्ण गर्ने तिम्रो अत्यन्त विराट नाम, तिम्रा श्रेष्ठतम् उपाधिहरू र तिम्रा अत्यन्त ओजस्वी गुणहरूद्वारा म तिमीसित याचना गर्दछु कि आफ्ना प्रियजनलाई तिम्रा बहुविध कृपाहरूतर्फ र तिम्रो ज्ञानको मन्दिर तर्फ आफ्नो अनुहार फर्काउन सहायता गर । मानिसहरूलाई चारैतिरबाट आक्रान्त पारिरहेका रोग– व्याधिहरूलाई निवारण गरिदेऊ ताकि सारालाई शरण प्रदान गर्ने  तिम्रो नामको वैकुण्ठ दशर्न गर्नबाट तिनले वञ्चित हुन नपरोस्, जुन नामलाई तिमीले स्वर्ग र पृथ्वीमा बस्ने साराको लागि नामहरूको सम्राट् घोषित गरेका छौ । तिमी जे चाहन्छौ त्यही गर्ने सामथ्र्य राख्दछौ र सबै नामहरूको साम्राज्य तिम्रै हातमा छ । बलवान्, ज्ञानी तिमीबाहेक अर्को ईश्वर छैन । 

म एउटा तुच्छ प्राणी हुँ, हे मेरा प्रभु ! म तिम्रो द्रव्यको ढुकुटीको नजिकमा छु । म सिकिस्त बिरामी छु, तिम्रो रोग निवारक डोरी बलियोसित पक्डेर बसेको छु । 

मलाई घेरेर बसेका खराबीहरूबाट मेरो उद्धार गर, तिम्रो कृपा र दयाको जलद्वारा मलाई स्नान गराऊ र मलाई तिम्रो क्षमा र प्रचुरताद्वारा सम्पूर्णताको वस्त्रले सुसज्जित गराऊ । अतः मेरा आँखाहरूलाई तिमीमा नै केन्द्रित गराइराख र तिमीबाहेक अन्य सबैको मायामोहबाट मलाई मुक्त गराऊ । 

मलाई तिम्रो इच्छानुकूल आचरण गर्नमा सहायता गर र त्यही काम मात्र गराऊ जुन तिमीलाई राम्रो लाग्दछ । 

वस्तुतः तिमी नै यस लोकका तथा परलोकका पनि अधिपति हौ । तिमी नै, निःसन्देह, संधै क्षमादानी, सर्व– कृपानिधान छौ ।

-Bahá'u'lláh
-----------------------

